मलेखुको पुल बगेपछि वैकल्पिक सडकबाट धादिङबेसी जोडिँदै, खाद्यान्न र इन्धन आपूर्ति सहज

१३ भदौ, धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि पृथ्वी राजमार्गसँग सडक सम्पर्क विच्छेद भएको धादिङबेसी सदरमुकाम वैकल्पिक सडकमार्फत पुनः जोडिन थालेको छ।
धादिङ खण्डमा रहेका सुरक्षित पक्की पुललाई आधार बनाएर विभिन्न वैकल्पिक सडक मर्मत तथा सञ्चालनमा ल्याइएपछि सदरमुकामसम्म अत्यावश्यक सामग्री पुर्याउन सहज हुन थालेको हो।
मासटार–पिपलटार–परेवाटार सडक सञ्चालनमा
मलेखुको पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्न मासटार–पिपलटार–परेवाटार वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।स्थानीय तहले यसअघि निर्माण गरेको सडकलाई सिद्धलेक गाउँपालिका र सडक विभागले मर्मत गरेपछि हाल जीप, भ्यान, हाइस, माइक्रोबसलगायतका सवारी सञ्चालन गर्न सकिने अवस्था बनेको छ। सडक विभागका सुपरभाइजर कुमार थपलियाका अनुसार वर्षाका कारण क्षतिग्रस्त सडक मर्मत गरी आवागमनका लागि खुलाइएको हो। ठूला मालवाहक सवारी तथा यात्रुवाहक बससमेत सञ्चालन गर्न मिल्ने गरी थप सुधारको काम भइरहेको छ।
यसै मार्गबाट बाबा ग्यासका दुई ट्रक धादिङबेसी पुगेपछि स्थानीयलाई राहत मिलेको छ।
धादिङबेसीबाट पृथ्वी राजमार्गतर्फ जाने यात्रुले परेवाटार–पिपलटार–केउरेनी हुँदै मासटार पुग्न सक्नेछन्। त्यस्तै राजमार्गतर्फबाट सदरमुकाम आउँदा मासटारस्थित त्रिशूली नदीको पुल हुँदै केउरेनी, पिपलटार र परेवाटारको बाटो प्रयोग गर्न सकिनेछ।
दसैंका बेला समेत सार्वजनिक यातायात सञ्चालन गर्न सकिने गरी सडक सुधार गर्ने तयारी भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
धादिङबेसी–सुनौलाबजार–फोस्रेटार सडक अर्को विकल्प
सदरमुकामलाई राजधानी तथा पृथ्वी राजमार्गसँग जोड्ने अर्को विकल्पका रूपमा धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–कल्लेरीटार हुँदै गल्छी जोडिने सडकलाई अघि बढाइएको छ।
करिब ४० किलोमिटर लामो यो सडकमा करिब १५ किलोमिटर पक्की र २५ किलोमिटर कच्ची रहेको बताइएको छ। हाल सडक मर्मत तथा सुधारको काम भइरहेको छ।
यो मार्ग हलुका चारपाङ्ग्रे सवारी तथा मोटरसाइकलका लागि प्रयोगमा आए पनि सार्वजनिक यातायातलाई समेत सहज रूपमा सञ्चालन गर्न सकिने बनाउने प्रयास भइरहेको नीलकण्ठ नगरपालिकाले जनाएको छ।
मालसामान ढुवानीका लागि मुग्लिन–गोरखा–आरुघाट मार्ग प्रयोगमा
धादिङबेसीमा खाद्यान्न तथा इन्धन आपूर्ति कायम राख्न मुग्लिन–आँबुखैरेनी–गोरखा–आरुघाट–सल्यानटार–धादिङबेसी सडकसमेत वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको छ।
दूरी केही लामो भएकाले ढुवानी लागत बढ्ने भए पनि तराई क्षेत्रबाट खाद्यान्न, इन्धन तथा अन्य अत्यावश्यक सामग्री ल्याउन यो मार्ग उपयोगी बनेको छ।
सल्यानटारदेखि आरुघाटसम्मको करिब पाँच किलोमिटर सडक कच्ची रहे पनि स्थानीय तहले मर्मत गरेपछि आवागमन सहज बनाइएको छ।
यसै मार्गबाट बाढीपछि तीन ट्रक पेट्रोल तथा डिजेल धादिङबेसी भित्रिएको छ। खाद्यान्न बोकेका मझौला मालवाहक सवारीसमेत यही बाटो हुँदै सदरमुकाम पुगिरहेका छन्।
अत्यावश्यक सामग्रीको अभाव टर्दै
बाढीपछि सुरुका दिनमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री खरिद गर्न स्थानीयको भीड बढे पनि अहिले आपूर्ति क्रमशः सहज बन्दै गएको नीलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले बताएका छन्।
हाल खाद्यान्न र इन्धनको तत्काल अभाव नरहेको उनको भनाइ छ।
वैकल्पिक सडकमार्फत राजमार्गसँग सम्पर्क पुनःस्थापित हुन थालेसँगै धादिङबेसीको जनजीवन र आपूर्ति व्यवस्था सामान्यतर्फ फर्किने अपेक्षा गरिएको छ। यद्यपि सार्वजनिक यातायात नियमित रूपमा सञ्चालनमा आउन भने अझै केही समय लाग्ने देखिएको छ।



Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.